काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट १६ अप्रिलमा प्राप्त मूल्य अनुसार समायोजन नगरे १५ दिनमै ८१ करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपर्ने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले बढाएको हो । आन्तरिक उडानको हवाई इन्धनको मूल्य भने लिटरमा २ रुपैयाँ बढाएको छ ।

निगमले यसअघि चैत २२ गते यी तीनथरी इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको थियो । चैत २२ पछि काठमाडौंको थानकोटस्थित निगमको डिपोबाट १५ किलोमिटर दुरीभित्र पेट्रोलको मूल्य लिटरको १२० रुपैयाँ पुगेको थियो । मट्टीतेल र डिजेलको हकमा प्रतिलिटर १०३ रुपैयाँ मूल्य कायम भएको थियो ।

शनिबार राति १२ बजेबाट लागू हुने मूल्य अनुसार थानकोटस्थित निगमको डिपोबाट १५ किलोमिटरभित्रका ग्राहकले एक लिटर पट्रोलको लागि १२१ रुपैयाँ तिर्नुपर्नेछ ।

मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ कायम भएको छ । आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने जहाजको हवाई इन्धनको मूल्य यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ । यो समायोजनपछि पनि निगमलाई १५ दिनमा ६० करोड १३ लाख घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

निगमका अनुसार सीमावर्ती भारतीय बजारको तुलनमा नेपालपट्टि पेट्रोल लिटरमा २९ रुपैयाँ २३ पैसा र डिजेल लिटरमा ३५ रुपैयाँ ४१ पैसा सस्तो छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय