
काठमाडौं– सरकारले कोरोना संक्रमण रोक्न भन्दै रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले सहरी क्षेत्रका विद्यालय पनि बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले सिसिएमसीको सिफारिसअनुसार यी निर्णयहरु लिएको एकजना मन्त्रीले जानकारी दिए । त्यसैगरी, धार्मिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय भएको छ ।
मन्त्रिपरिषद् स्रोतका अनुसार स्विमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।