काठमाडौं– नवलपुरको कावासोतीमा पनि धितोपत्र दलालको व्यवसायीको शाखा कार्यालय खुलेको छ । भिजन सेक्युरिटिज प्रालिले नवलपुरको कावासोतीमा शाखा खोलेको हो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना उक्त कार्यालयको उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै उनले धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पुँजी बजारको पहुँच विस्तारमा थप टेवा पुर्याउने बताए । अध्यक्ष ढुंगानाले धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछि बोर्ड दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको बताए ।

यसले देशका कुनाकाप्चाबाट सर्वसाधारणले सेयर खरिद गर्ने तर सो सेयर बिक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्या समाधान हुने उनको भनाइ छ ।

शाखा कार्यालय विस्तारमार्फत एकातिर संघीयताको सिद्धान्त अनुरूप पुँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीय स्तरको पुँजी परिचालन हुने र अर्कातिर देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने वातावरण बन्ने उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय विशेष गरी २०७७ साल नेपालको पुँजी बजारको लागि ऐतिहासिक वर्षको रूपमा रहन गएको बताए । धितोपत्रको प्राथमिक निष्कासन, कारोबार रकम, बजार पुँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्या जस्ता परिसूचकहरूको आधारमा ७७ साल विशेष हुन पुगेको उनको भनाइ छ ।

उनले विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै आइपिओमा १८ लाखभन्दा बढी लगानीकर्ताहरू सहभागी हुने अवस्था सिर्जना भएको भन्दै बोर्डले पछिल्लो समय बजारको सुधार तथा विकास विस्तारका लागि विभिन्न पहल गरेको जानकारी दिए ।
अध्यक्ष ढुंगानाले हालको उपलब्धिको जगेर्ना गर्दै पुँजी बजारको क्षेत्र र दायरा थप विस्तार गर्नुपर्ने चुनौती रहेको बताए । यो वर्ष बोर्ड नेपालको धितोपत्र बजारमा नयाँ आयाम थप्ने गरी अघि बढिरहेको उनको भनाइ छ ।

यो वर्ष कारोबार प्रणालीको प्राविधिक सुधार एवं टी प्लट टूको प्रभावकारी कार्यान्वयन, थप लगानी उपकरणको व्यवस्था, गतिशील एवं प्रभावकारी ऋणपत्र बजार सञ्चालन, ओटिसी बजारको यान्त्रीकीकरण लगायत विषयलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको उनको भनाइ छ । उनले चालु आर्थिक वर्षमै प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता विशिष्टीकृत लगानी कोषहरूको सञ्चालन गर्ने अवस्थामा रहेको जानकारी दिँदै लामो समयदेखि प्रक्रियागत अष्पस्टताका कारण अन्योलमा रहेको वस्तु विनिमय बजारको सञ्चालन अनुमति दिने प्रक्रिया यही आर्थिक वर्षमा टुंगोमा पुर्याउने लक्ष्यसाथ तीव्र गतिमा काम भइरहेको दाबी गरे ।

अध्यक्ष ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पुँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यवासायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले ब्रोकरको पुँजीगत क्षमता अभिवृद्धि, व्यवसायिकता अभिवृद्धिका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय