बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश संसदमा अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै सांसद किनबेचको सिलसिला सुरु भएको छ । मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका व्यक्तिहरुलाई नै मन्त्री नियुक्त पारेर उक्त प्रस्ताव निस्तेज बनाउने प्रयास गरेका हुन् ।

नेपाली कांग्रेस, एकीकृत माओवादी र जसपाका सांसदहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको दुई घन्टा नबित्दै पोखरेलले जसपाका दुई सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त हुन आएको पदमा जसपाका सांसदलाई मन्त्री बनाउने तयारी भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र अरु दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी पोखरेलले गरेका हुन् ।

प्रदेश सरकारले असन्तुष्टलाई भाग पुर्याउन सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरेको छ । नयाँ नियुक्त हुनेहरुलाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।

स्रोतका अनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई मन्त्री बनाउने तयारी छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उक्त प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई नै मन्त्री नियुक्त गर्ने तयारीलाई किनबेचको खेलको रुपमा हेरिएको छ ।

सोमबार बिहान नेपाली कांग्रेस, एकीकृत माओवादी र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सांसदमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय