काठमाडौं– काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।

कीर्तिपुरको टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले टस जित्दै बलिङ रोजेको थियो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा १२.१ ओभरमा दीपेन्द्र ऐरीले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

नेपालका युवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय पारी खेल्दै नेपाललाई लगातार दोस्रो जित दिलाएका हुन् । कुशलले खेलको सातौं ओभरमै अर्धशतक पूरा गरे ।

उनले २६ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । उनले नेदरल्याड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

नेपालको जितमा आशिफले पनि उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले २९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रले तीन बलमा ६ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले अलआउट हुँदै १०९ रन मात्र बनाउन सक्यो । उसका लागि सयद अजिजले उच्च २७ रन बनाए ।

अजिजले २४ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । अर्का ब्याट्सम्यान सरभिन मुनियान्डीले २० रन र सफिक सरिफले १५ रन बनाउँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले तीन ओभर बलिङ गर्दै १७ रन खर्चेर तीन विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन दिएर दुई विकेट हात पारे । सोमपाल, दीपेन्द्र, सहाब र कुशलले एक–एक विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर