काठमाडौं– त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ । यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ ।

यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । सिरिजअन्तर्गत आज नेपालले नेदरल्यान्डविरुद्ध खेल्दैछ । यसअघि नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो । नेपाल उपाधि होडमा बलियो अवस्थामा छ ।

हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्ष स्थानमा छ । नेपालले आफ्नो दुवै खेल जित्दै चार अङ्क जोडेको छ । नेदरल्यान्ड्सले दुईमध्ये एक खेलमा जित तथा एकमा हारका साथ दुई अंक जोड्दै दोस्रो स्थानमा छ ।

यस्तै मलेसिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ । नेपाल र नेदरल्यान्ड्सविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय