नयाँ दिल्ली– कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घन्टामा तीन हजार ७८० को मृत्यु भएको छ ।

बुधबार बिहान सार्वजनिक विवरणअनुसार भारतमा कोभिड–१९ बाट कुल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ ।

गत मे १ तारिखमा चार लाख कोभिड–१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट संक्रमितको संख्या तीन लाख ८२ हजार रहेको छ ।

सरकारी विवरणमा कोभिड–१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घन्टामा तीन लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

उक्त भाइरस संक्रमणबाट हालसम्म भारतमा दुई लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मंगलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ ।

कोभिड–१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड–१९ को खोप अभियानलाई पनि तिब्र बनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।

कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ । नयाँ दिल्ली र मुम्बई जस्ता ठूला सहरमा कोभिड–१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति सहज हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतको सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घन्टामा झण्डै २० हजार नयाँ संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा हालसम्म कोभिड–१९ बाट सात हजार ७५२ जनाको ज्यान गइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय