काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० वर्ष पूरा गरेको छ । यो कम्पनी २०५८ वैशाख २१ गते स्थापना भएको थियो । यसबीचमा कम्पनीले बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा दिइरहेको जनाएको छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल दाबी गरेको कम्पनीले जीवन बिमा क्षेत्रमा हरेक सूचकांकले यसलाई अब्बल साबित गरेको जनाएको छ ।

२१औं वार्षिकोत्सवका अवसरमा जारी विज्ञप्तिका अनुसार कम्पनीमा १११.४७ अर्ब रुपैयाँ लगानी छ । यसको जीवन बिमाकोष १०१ अर्ब २८ करोड रुपैयाँको छ । सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीको चुक्तापुँजी ७.१९ अर्बभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढी सर्वाधिक बजार पुँजीकरण छ ।

कम्पनीले आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा मृत्युदाबी ३.७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका २ सय शाखा तथा उपशाखामार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन् । २१ वर्ष प्रवेशको अवसरमा कम्पनीले ग्राहकको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘देशका दूरदराज, कुनाकन्दरासम्म बिमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएका छौं,’ कम्पनीले विज्ञप्तिमा भनिएको छ ।

कोभिड महामारीको अवस्थामा अग्रपंक्तिमा रही निरन्तर सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्य लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई कम्पनीले उच्च सम्मान प्रकट गरेको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइमा ल्याउन निरन्तर विश्वास, साथ र मार्गनिर्देश गर्ने नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी लगायत सबैमा कृतज्ञता ज्ञापन गरेका छन् । कम्पनीले बिमितहरु, अभिकर्ता तथा कम्पनीको बृहत्तर हितका लागि मेहनती र लगनशील भई सेवा प्रवाह गर्ने कर्मचारीलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन् । उनले कम्पनी र सेवाग्राहीबीचको मजबुत सम्बन्ध सधैं कायम रहिरहोस् भन्ने कामना गर्दै कोरोना भाइरसको महामारीमा पनि सरल रुपमा जीवन बिमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।

कम्पनीले समयसापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । नेपाल लाइफले बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपिएस, फोन पे, आइएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय