काठमाडौं– नेपालमा गत चैत मसान्तमा कुल विदेशी विनियम सञ्चिति १४३३ अर्ब २७ करोड पुगेको छ । गत असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ९६ करोड पुगेको छ । यो गत असार मसान्तमा ११ अर्ब ६५ करोड थियो । असारको तुलनामा चैत मसान्तको सञ्चिति २.७ प्रतिशतले बढी हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२२६ अर्ब १२ करोडबाट बढेर रहेकोमा चैत मसान्तमा १२५३ अर्ब १७ करोड पुगेको छ । यो २.२ प्रतिशतको वद्धि हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँगको सञ्चिति २.५ प्रतिशतले बढेर १८० अर्ब १० करोड पुगेको छ । गत असार मसान्तमा यो १७५ अर्ब ७१ करोड थियो ।

चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.९ महिनाको वस्तु र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय