त्रिशूली– कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिन्डर अक्सिजन सहयोग गरेको छ ।

राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारी सहितसँगको छलफलपछि सिलिन्डर हस्तान्तरण सुरु गरेका हुन् ।

मन्त्री पाण्डेले महामारीका बेला सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी, व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटको ककनीस्थित उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।

महत्त्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) को सम्मान प्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष हुन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोग गरिएको बताए ।

उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेलाई जानकारी गराइएको थियो । उद्योगले दैनिक १०–१० सिलिन्डरका दरले अस्पतालमा अक्सिजन पठाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय