काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको बजेटबाट खुद्रा व्यवसायी निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बजेटका विषयमा छलफल गर्न सोमबार बिहान आयोजना गरेको वेबिनारमा बोल्दै उनले मूल्य अभिवृद्धिकरमा रहेको ५० लाखको थ्रेसहोल्ड बढाएर एक करोड पुर्याउने कदमबाट खुद्रा व्यवसायी निकै हर्षित भएको बताए । सरकारको उक्त निर्णयबाट खुसी भएका खुद्रा व्यवसायीले चेम्बरलाई बधाई दिएको उनले बताए ।

चेम्बरले भ्याटको थ्रेसहोल्ड बढाउन लबिङ गरेको थियो । ‘५० लाखको थ्रेसहोल्ड १ करोड पुर्याएकोमा सरकारलाई धन्यवाद । यसबाट खुद्रा व्यापारी निकै खुसी छन्,’ अध्यक्ष मल्लले भने, ‘उनीहरुले हामीलाई बधाइ दिएका छन् ।’

समग्रमा बजेट राम्रो रहे पनि विनियोजित बजेट खर्च भएन भने जिडिपीको लक्ष्य हासिल नहुने उनले बताए । ‘विनियोजन भएको बजेट खर्च हुने वतावरण बनाउनुपर्यो,’ अध्यक्ष मल्लले भने ।

उनले शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण, स्टार्टअपलाई १ प्रतिशतमा २५ लाख कर्जा दिने प्रावधानलाई निकै सराहनीय भने । यसले स्वगरोजगार वृद्धि भई आत्मनिर्भरता बढ्ने उनको बुझाइ छ । निजी क्षेत्रको माग अनुसार सिएसआरको बजेट महामारीमा खर्च गर्न पाइने व्यवस्था ल्याएको भन्दै त्यसलाई उनले स्वागतयोग्य भने । यसले उद्यमी, व्यवसायीमा सामाजिक सेवा भाव जागृत गराउन मद्दत गर्ने उनले बताए ।

शिक्षालाई १.८ खर्ब विनियोजन भएकोलाई राम्रो भन्दै अध्यक्ष मल्लले बिजुली निर्यातबारे सोच्नुपर्ने सुझाए । ‘हाम्रो बिजुली भारत र बंगलादेश कसरी लग्न सकिन्छ भन्नेमा कूटनीतिक प्रयास रहोस्,’ मललले भने, ‘बिजुली निर्यातबाट व्यापार घाटा कम गर्नुपर्छ ।’ होटल व्यवसायलाई उद्योगको मान्यता दिनुलाई सारै राम्रो कदम भनेका मल्लले घरजग्गा कारोबार पनि दर्ता भएको कम्पनीबाट मात्र गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यसो गर्न सके ठूलो परिमाणमा कर संकलन हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय