काठमाडौं– त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा आज अमेजन वेब सर्भिसेज (एडब्लुएस) एकेडेमी सुरु भएको छ । यसको सुरुआत युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जिनिस सोलुसनले गरेका हुन् ।
नेपालमा पहिलोपटक सुरु भएको एडब्लुएस एकेडेमीले हजारौं विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने बताइएको छ ।
सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी युकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ । यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि निनिस सोलुसन लगायतसँग काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस एकेडेमीको सुरुआत भर्चुअल माध्यमबाट गरिएको थियो, जसमा इन्जिनियरिङ प्रतिष्ठान, युकेएड सीप तथा जिनिस सोलुसनका उच्च अधिकारीहरू सहभागी थिए । कार्यक्रममा देशमा हाल भैरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रुत गतिमा बढाउनेबारेमा भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृ निकाय, सञ्चार माध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो । युकेएडका टिम लिडर बलजित भोराले युकेएड सीपको जिनिस जस्ता संस्थासँगको साझेदारीले आर्टिफिसियल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ, ई–मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मदत गर्ने बताए ।
युकेएड सीपको सहयोगमा जिनिस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको बताइएको छ । यसबाट शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ । यस पहल अनुसार एडब्लुएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन् । जिनिस सोलुसनका प्रमुख विश्व प्रविधि अधिकृत अन्जनी फुँयालका अनुसार जिनिसको सहयोगले सस्तोडिल, सानिमा बैंक, सिटिजन बैंक, एपिसिए नेपाल, लिपफ्रग तथा बुद्ध एयर जस्ता नेपालका नेतृत्वदायी संस्थाहरूले क्लाउडमा आफ्ना व्यवसायका तथ्यांक तथा जानकारीहरू सारेका छन् ।
युकेएड सीप र जिनिसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २,१०० भन्दा बढी विद्यार्थीलाई भविष्यमा पनि रोजगारी पाइराखिने सीपको विकास गराएको छ ।
आफ्ना तथ्यांक तथा जानकारीहरूलाई क्लाउडमा उपलब्ध समाधानमा सार्ने नेपाली तथा विश्वभरका उद्योगहरूको गतिलाई कोभिड–१९ को महामारीले तीव्र बनाएको छ । ‘त्यो भनेको क्लाउड कम्प्युटिङको विज्ञता माग गर्ने बदलिँदो रोजगारी बजारमा उपलब्ध अवसरहरूलाई ग्रहण गर्न तथा प्रतिक्रिया जनाउन सक्ने मानव संसाधनको बढ्दो आवश्यकता हो,’ अमेजन वेब सर्भिस एकेडेमीका दक्षिण एसियाका नेतृत्व लोकेश मेहराले भने ।