काठमाडौं– दक्षिण अफ्रिकाकी एक ३६ वर्षे महिलामा २१६ दिनसम्म कोरोना पोजेटिभ देखिएको छ । ती महिला एचआइभी संक्रमित रहेको प्राप्त समाचारमा उल्लेख छ ।

सो अवधिमा भाइरसले उनको शरीरभित्र ३१ पटक रुप परिवर्तन गरेको अध्ययनले देखाएको छ । विज्ञहरुले समीक्षा गरेको उक्त केस रिपोर्ट एमइडीआरएक्सआइभी नामको जर्नलमा बिहीबार छापिएको छ । नाम नखुलाइएकी ती महिला दक्षिण अफ्रिकाकी हुन् ।

कोरोना भाइरसले स्पाइक प्रोटिनमा १३ पटक रुप परिवर्तन (म्युटेसन) गरेको बताइएको छ । भाइरसले हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीलाई छल्न रुप परिवर्तन गर्ने गर्छ । बाँकी १८ पटकको रुप परिवर्तनले भाइरसको व्यवहार परिवर्तन गर्न सकेको थियो ।

ती महिलामा भएको भाइरसको रुप परिवर्तन अरुमा सर्यो कि सरेन भन्ने कुरा प्रस्ट नभएको लस एन्जलस टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ ।

त्यस्ता केसहरु अरु पनि भेटियो भने यसले एचआइभी संक्रमण कोरोनाको नयाँनयाँ भेरियन्टको स्रोत बन्न सक्ने देखिन्छ ।

एचआइभी संक्रमितले लामो समय भाइरस बोकेर हिँड्ने भएकोले रुप परिवर्तनको सम्भावना बढ्ने डर्बानस्थित युनिभर्सिटी अफ क्वाजुलु–नाटालका अनुवंशिकी विज्ञ तथा अध्ययन प्रतिवेदनका सहलेखक टुलिओ डी ओलिभिएराले उक्त पत्रिकालाई बताएका छन् ।

तर यो एचआइभी संक्रमित सबै व्यक्तिमा लागू हुने नियम नभई अपवाद हुन सक्ने बताइएको छ, किनभने लामो समयको संक्रमणका लागि गम्भीर ‘इम्युनोकम्प्रमाइज’ आवश्यक पर्ने युनिभर्सिटी अफ बार्सिलोनामा सरुवा रोगका सहप्राध्यापक डा. हुआँ अम्ब्रोसिनी बताउँछन् । वास्तवमा ती महिला अपर्याप्त प्रतिरोधी क्षमताकी थिइन् ।

यो अध्ययन कोभिड १९ नियन्त्रणम महत्त्वपूर्ण छ किनभने यस्ता बिरामीहरु निरन्तर संक्रमण फैलाउने स्रोत र भाइरसको क्रमिक विकासको लागि उर्वर भूमि बन्न सक्ने अम्ब्रोसिनीको भनाइ छ । अपर्याप्त प्रतिरोधी क्षमता भएका व्यक्तिले कोरोना भाइरस अरुले भन्दा बढी समय बोक्न सक्छन् ।

यस्ता घटना सजिलै लुकेर बस्न सक्ने डी ओलिभिएराले बताए । ‘किनभने ती महिलाले अस्पतालमा प्रारम्भिक लक्षणको उपचार गरेपछि उनको शरीरमा कोभिड १९ को मध्यमखाले लक्षण मात्र थियो, जबकि अझै पनि उनले कोरोना भाइरस बोकेकी थिइन्,’ डी ओलिभिएराले टाइम्ससँग भनेका छन् ।

वैज्ञानिकहरुले एचआइभी संक्रमित ३०० व्यक्तिलाई प्रतिरोधी प्रणालीको प्रतिक्रिया अध्ययनमा समावेश गरेकाले मात्र यो तथ्य पत्ता लागेको हो । अनुसन्धाताहरुले के पनि पत्ता लगाएका छन् भने एचआइभी संक्रमित अरु चारजनामा कोरोना एक महिनाभन्दा बढी रहेन ।

अन्य कारणले प्रतिरोधी प्रणाली कमजोर भएका केही बिरामीमा पनि कोरोना भाइरस लामो समयसम्म सक्रिय रहेको अम्ब्रोसिनीको भनाइ छ । उदाहरणका लागि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा एक वर्षसम्म पनि कोरोना पोजेटिभ भएको पाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय