काठमाडौं– नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकलाई कोरानाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ । संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।

संघले दोस्रो लहरको संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने बताएको हो ।

संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।

संघले दोस्रो लहरको कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको जनाउँदै संघले निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

संघले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपंक्तिमा रही काम गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएकोले उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय