काठमाडौं– महानगरपालिकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको भोलि सोमबारबाट पुनः लगाइने भएको छ । महानगरपालिकाले सूचना प्रकाशित गरी जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप अभियान सञ्चालन गरिने जनाएको छ ।

यस अभियानमा पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी व्यक्तिहरु चिकित्सक तथा स्वास्थ्यकर्मी, फ्रन्टलाइनर तथा मेडिकल विद्यार्थी प्राथमिकतामा रहने सूचनामा उल्लेख छ ।

दुई दिन सञ्चालन हुने अभियानमा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने छ । वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिनअघि नै खोप कार्यक्रम स्थगित गरेको थियो । सरकारले तोकेको लक्षित समूह बाहिर गएर जनप्रतिनिधिले खोप वितरण गरेकाले यसपटक भने अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बुझिएको छ ।

यी दुई दिन बिहान १० देखि साँझ ४ बजेसम्म खोप लगाइने महानगरको सूचनामा उल्लेख छ । खोप लिन अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ । दोस्रो मात्रा लगाउनेको हकमा अघिल्लोपटक खोप लगाएको कार्ड पनि साथै लैजानुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय