काठमाडौं– होटलहरुले आफ्ना कामदार, कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सरकारले तोकेको तलब दिन नसकिने जनाएका छन् । होटलहरुको संस्था होटल संघ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न नसकिने बताएको हो ।

हानका अध्यक्ष सृजना राणाको नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न नसकिने बताएको हो ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण तोकिएको तलबमान समेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलबमान तत्काल उपलब्ध गराउन नसकिने बताए । नयाँ तलबमान उपलब्ध गराउन नसकिनेबारे होटल संघ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भइसकेको शाहको भनाइ छ ।

हानले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको अवस्थामा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि अनुरोध समेत गरेको छ । यस्तै, आव २०७८–०७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट बेहोर्ने घोषणा भए पनि वर्तमान अवस्थालाई ध्यानमा राखेर अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराउन हानले आग्रह समेत गरेको छ ।

सरकारले १३ हजार ४५० रहेको कामदार, कर्मचारीको न्यूनतम मासिक तलबलाई बढाएर १५ हजार रुपैयाँ कायम गरेको छ । नयाँ तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय