काठमाडौं– अनेकौं अड्कल र अनुमानबीच आइतबार धितोपत्रको तथ्यांकीय मापक नेप्से दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यस दिन दोस्रो बजारमा सूचीकृत सबै उपसमूहका परिसूचक घटेका छन् ।

आइतबार नेप्से परिसूचक २.१३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन नेप्से परिसूचक ६३.२८ बिन्दुले घटेर २९०५.१४ कायम भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ भने ६ उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । बाँकी ४ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

केही दिनअघि धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीको सेयर मूल्यमा चलखेल भएको र ती कम्पनीको सेयरमा गरिने लगानी जोखिमपूर्ण हुने भन्दै विज्ञप्ति जारी गरेपछि सेयर बजारको आगामी दिशा र दशाबारे अनेकौं अड्कल र अनुमान भइरहेका छन् ।

यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.५ प्रतिशत घटेको छ भने जलविद्युत् समूहको ३.३८ प्रतिशत र वित्तको ३.३३ प्रतिशतले घटेको देखिन्छ । त्यसैगरी, व्यापार उपसमूहको परिसूचक २.५१ प्रतिशतले, होटल तथा पर्यटनको २.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधनको २.४ प्रतिशतले, अन्यको २.२ प्रतिशतले, लघुवित्तको २.१८ प्रतिशतले र लगानीको २.०७ प्रतिशतले घटेको छ । बाँकी उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी घटेको छ ।

यस दिन कारोबार रकम पनि घटेको छ । १९ अर्बभन्दा माथि पुगेर कीर्तिमान कायम गरेको कारोबार रकम आइतबार ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा सीमित भएको छ ।

यस दिन कारोबार रकमका नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको ८० करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय