काठमाडौं– भारत सरकारले अनुदानमा दिन लागेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो खेप भोलि (बिहीबार) नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वत्राले बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी भारतले अनुदानमा उपलब्ध गराउन लागेको १० लाख डोज कोरोना खोपको पहिलो खेप बिहीबार काठमाडौं अवतरण गर्ने जानकारी गराए ।

‘भारत सरकारले १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ…। उक्त खोप भोलि नै काठमाडौं अवतरण हुँदैछ,’ पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले भने, ‘यसका लागि भारत सरकार, भारतीय प्रधानमन्त्री र भारत सरकारका प्रतिनिधि महाहिम राजदूतलाई कृतज्ञता ज्ञापन गर्दछु ।’

खोप नेपाल आइपुगेपछि ढिलो नगरी खोप अभियान सुरु गर्ने पनि उनले जानकारी दिए ।

सरकारले प्रारम्भिक चरणमा खोप लगाउने अग्रपंक्तिका योद्धाहरु– सफाइकर्मी, चिकित्साकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा संलग्न व्यक्तित्व र सुरक्षाकर्मी– को पहिचान गरिसकेको पनि उनले जानकारी दिए । नेपालमा ७२ प्रतिशत जनसंख्यालाई कोरोनाविरोधी खोप लगाउनुपर्ने सरकारी भनाइ छ ।

खोप सुरु गर्न कानुनी, प्राविधिक, आर्थिक, प्रशासनिक लगायतका तयारी पूरा भइसकेको जानकारी गराउँदै मन्त्री त्रिपाठीले अग्रपंक्तिका योद्धाहरुलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु गरिने बताए । खोप आइसकेपछि ‘ढिलो नगरी अभियान अगाडि बढाउनेछौं,’ मन्त्री त्रिपाठीले भने, ‘बाँकीको लागि पनि प्रयत्न गरिराखेका छौं ।’

भारतले अक्सफोर्ड विश्वविद्यालय र औषधी निर्माता अस्ट्राजेनेकाले तयार गरेको खोप उत्पादन गरिरहेको छ । भारत आफैंले पनि कोरोनाको खोप विकास गरेको छ । भारतमा गत शनिबार खोप अभियान सुरु भइसकेको छ । उसले नेपालसहित ६ मुलुकलाई अनुदानको खोप आपूर्ति सुरु गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा भारतीय राजदूत क्वत्राले कोरोनाविरोधी खोपलाई विश्वव्यापी वस्तु भन्दै भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय