काठमाडौं– आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।

आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुंगो लाग्ने छ ।

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि २० लाख भारतीय रुपैयाँ पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए ।

दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनले दिल्लीबाट कुनैपनि खेलमा खेल्ने मौका पाएनन् ।

दिल्लीले लामिछानेसँगै इंग्ल्यान्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय