काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

संस्थाले जारी पुँजीको ४० प्रतिशत बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन बन्द छिटोमा फागुन २ गते र ढिलामा फागुन १२ गते हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

लगानीकर्ताले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

उक्त संस्थालाई इक्रा नेपालले रेटिङमा ‘डबल बी’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने सेयर बाँडफाँड पछि लघुवित्तको चुक्ता पुँजी १० करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय