
काठमाडौं– दक्षिणी छिमेकी भारतले नेपाललाई आगामी वर्ष ९.९२ अर्ब भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) बराबर अनुदान दिने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीथारमणले सोमबार भारतीय संसदमा प्रस्तुत गरेको सन् २०२१/२०२२ को बजेटमा नेपाललाई नौ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिने उल्लेख छ । चालु आर्थिक वर्षमा भारतले नेपाललाई आठ अर्ब ८० करोड भारु बराबर अनुदान दिएको थियो ।
चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षको अनुदान एक अर्ब १२ करोड भारुले बढी हो ।
भारतले आगामी वर्ष सबैभन्दा धेरै अनुदान भुटानलाई दिने घोषणा गरेको छ । भुटानलाई ३० अर्ब चार करोड भारु दिने गरी बजेट विनियोजन भएको छ । त्यसैगरी, श्रीलंका र बंगलादेशलाई दुई–दुई अर्ब, अफगानिस्तानलाई तीन अर्ब ५० करोड भारु अनुदान दिने बजेटमा उल्लेख छ ।