काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्ड गरी बिहीबारदेखि काठमाडौंमा बिक्री सुरु गरेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरिद गरेर काठमाडौं उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री–वितरण सुरु गरेको हो ।

मार्सी चामल तीन दिन अर्थात आइतबारसम्म २६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार बिहीबार ९३ किलो, शुक्रबार १४४ किलो र आइतबार १३१ किलो चामल बिक्री भएको छ । उनले कम्पनीले यसअघि बिक्रीवितरण गर्दै आएको अन्य चामल जस्तै मार्सीको चामल बिक्री हुने अपेक्षा गरिएको बताइन् । खाद्य कम्पनीका काठमाडौं उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ ।

यसैगरी, बन्दाबन्दीका समयबाट सुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो मार्सी चामल २२५ मा बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरिदको प्रक्रिया सुरु गरेको छ । धान खरिद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२ र पैसा ५० तथा चामल प्रतिकिलो १६२ र पैसा ५० निर्धारण गरेको छ ।

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा कृषिज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायतको समिति बनाएको छ । कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय