बुटवल– जिआइजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा टुरिजम रिकोभरी टास्कफोर्स (टिआरटिएफ नेपाल) ले मंगलबारबाट पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धी पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर टुरिजम रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले प्रशिक्षण दिइरहेको टिआरटिएफको विज्ञप्तिमा उल्लेख छ । यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दांग, बाँके, सुर्खेत, र कैलाली गरी यहि फागुन १ गतेका दिन धनगढीमा सम्पन्न हुनेछ ।

नमूनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालीकामा पाँचजना प्रशिक्षक तयार गरी उनीहरुमार्फत प्रत्येक नगरपालीकामा पर्यटनसँग सम्बन्ध राख्ने २५० जना स्थानीय साना तथा मझौला उद्यमीलाई प्रशिक्षित गरिनेछ । फलस्वरुप यस अभियानको प्रारम्भिक योजना अनुुरुप पश्चिम नेपालमा कुल २,७५० सेवा प्रदायक तथा व्यवसायीलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिनाभित्र प्रशिक्षित गरिनेछ ।

विगतदेखिनै सरसफाइ र स्वच्छता प्रमुख चुुनौती रहेको र कोरोना महामारीपछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छ र सफा नेपाल बनाई नेपालको सुुन्दर छवि स्थापित गर्ने उद्देश्यले सुरु गरिएको यो नमूना अभियान निकै प्रभावकारी रहने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागी होटल टाइगर प्यालेसका महाप्रबन्धक लक्ष्मण थापाका अनुसार धेरै सरल तरिकाले पर्यटन र पर्यटकलाई कसरी सजिलो र सुुरक्षित तरिकाले सेवा प्रदान गर्ने र हरेक पर्यटन व्यवसायीले आफ्नो व्यवसायमा लागू गर्नुपर्ने तरिकाबारे यो तालीमबाट सहभागीहरु धरै सूक्ष्म तरिकाले बुझ्न र सिक्न पाएकोमा धेरै लाभान्वित भएको बताउँदै यस तालिमबाट सिकेका तौर तरिकालाई स्वच्छ नेपाल, सफा नेपाल अभियानको रुपमा प्रवद्र्धन गर्ने अठोट व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय