बाँके– नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् ।

झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौं राउन्ड हवाई फायर गरेको थियो । राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए । राखेको शालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको सहिद सेतु विकको शालिकसमेत तोडफोड गरेको छ ।

धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रणभन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुविक चोकमा रहेको सहिद सेतुको शालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ ।

तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको आज २१ वर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । २०६२–६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्व राजा वीरेन्द्रको शालिक भत्काइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगन्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्याउन आग्रह गरेका छन् ।

उनीहरुले सर्वपक्षीय छलफलबाट आपसी सहमतिमा समाधान खोज्न सकिने भएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य नगर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय