काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेतालाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो ।

जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि आइसिएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । प्राइम बैंकले दोस्रो र कामना सेवा विकास बैंकले तेस्रो स्थान हासिल गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा विजेता आइसिएफसी फाइनान्स, दोस्रो प्राइम बैंक, तेस्रो कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आइसिएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेटकिपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्तकुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वाभाविक प्रक्रिया रहेको र यस्ता खेलले कर्मचारीमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय