काठमाडौं– विश्व हिन्दु परिषद् नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा र देवनागरी लिपी विस्थापित गर्ने सरकारी निर्णयलाई असंवैधानिक र अव्यावहारिक भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

परिषद्ले एक विज्ञप्ति जारी गरी नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपीमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।

‘नेपाली भाषा र देवनागरी लिपीलाई कमजोर र धराशयी बनाउने उद्देश्यसहित देवनागरी लिपीको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार हो,’ परिषद्को विज्ञप्तिमा भनिएको छ, ‘देवनागरीमा लेखिएको नम्बर प्लेट हटाएर अनिवार्य रूपमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट लाद्न खोज्नु भनेको नेपाल र नेपालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण हो । नेपाल सरकार यातायात विभागको निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेकाहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर विषय हो ।’

निजी स्वार्थसिद्धिका लागि राष्ट्रविरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्ममाथि नै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापी सह्य नहुने परिषद्को विज्ञप्तिमा उल्लेख छ । परिषद्ले जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरीतको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा–देवनागरी लिपीमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्न परिषद्ले नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय