काठमाडौं– नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए । स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरे ।

‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यविना सम्भवन हुँदैन,’ उनले भने, ‘निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रदर्शनीमा धेरै किसिमका वस्तु अवलोकन तथा खरिदबिक्री गर्न पाइने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने देउवाको भनाइ छ ।

मुलुकको उद्यमशीलता विकास तथा निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सधैं हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाए ।

चेम्बर एक्स्पोले वस्तुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पुर्याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिए । यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो बस्तुको बजार बिस्तार गर्न सहयोग पुर्याउनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितिबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि एक्स्पोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड १९ महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘एक्स्पोलाई चेम्बरले अवदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि निवेदन गर्दछु ।’

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले नवीनतम प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोले स्वदेशी उद्यमी व्यवसायी एवं आम उपभोक्ताको लागि अत्यन्तै उपयोगी हुने अध्यक्ष मल्ललको भनाइ छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छालाजन्य वस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्री प्रदर्शनीमा राखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्न केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी १ सय ५० भन्दा बढी स्टल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय