बेइजिङ– चीनको औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि ससर्त अनुमति प्रदान गरेको छ । चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि ससर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ ।

यो खोप कोरोना भाइरसको उच्च जोखिममा रहेको मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ, तर शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि बाटो खोलेको छ । क्लिनिकल परीक्षणका सामान्य मापदण्ड पूरा गर्न अझै बाँकी रहे पनि आपतकालीन अवस्थामा यसलाई सर्वसाधारणमा प्रयोग गर्न खुला गरिएको छ ।

‘ब्राजिल र टर्कीलगायत खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतामा प्रयोग गर्न स्वीकृति मिलेको छ, यद्यपि प्रभावकारिता र सुरक्षा नतिजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ,’ सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ ।

चीनको अर्को एक औषधी कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो । ‘ब्राजिल लगायत मुलुकमा भएको क्लिनिकल परीक्षणले संक्रमण रोक्न खोपको करीब ५० प्रतिशत प्रभावकारिता पुष्टि भएको छ भने र संक्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ ।’

परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा संक्रमण निर्मुल गर्न खोप प्रभावकारी भएको दाबी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय