काठमाडौं– विश्वविख्यात पत्रिका द गार्डियन, प्लस ९७२ म्यागजिन र हिब्रु भाषाको समाचार संस्था लोकल कलको संयुक्त अनुसन्धानले इजरायली सेनाको एक वर्गीकृत डाटाबेसले नै गाजामा मारिएका ८३ प्रतिशत मानिस सर्वसाधारण रहेको खुलासा गरेको छ ।
बिहीबार यी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तथ्यांकहरूले सन् २०२५ को मे महिनासम्म अर्थात् गाजामा इजरायलले युद्ध सुरु गरेको १९ महिनासम्म, इजरायली सैन्य गुप्तचरले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) का ८ हजार ९०० लडाकु मारिएको पुष्टि गरेको वा ‘सम्भावित’ रूपमा मृत मानेको देखाउँछ ।
त्यही अवधिमा गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट कम्तीमा ५३ हजार जनाको मृत्यु भएको अभिलेख राखेका छन्, जसको अर्थ मृत्यु हुने कुल संख्यामामध्ये नाम उल्लेख गरिएका लडाकुहरू जम्मा १७ प्रतिशत मात्र थिए । बाँकी करिब ८३ प्रतिशत सर्वसाधारण थिए ।
सर्वसाधारण मृत्यको अनुपात आधुनिक युद्ध इतिहासकै अद्वितीय
द्वन्द्व अनुसन्धानकर्ताहरूका अनुसार आधुनिक युद्धमा यस्तो अनुपात लगभग अद्वितीय छ । लेखकहरूले रुवाण्डा नरसंहार, सन् १९९५ को स्रेब्रेनिका नरसंहार र सन् २०२२ मा रुसले मारिउपोलमा गरेको घेराबन्दीमा मात्र नागरिक मृत्यु दर यसभन्दा बढी रेकर्ड गरिएको उल्लेख गरेका छन् ।
अधिकारवादी समूह र नरसंहारसम्बन्धी अध्ययन गरेका विद्वानहरूले यी निष्कर्षहरूले इजरायलले गाजामा नरसंहार गरिरहेको दाबीलाई थप बल पुर्याएको तर्क गरेका छन् । ठूलो संख्यामा गैरसैनिक मृत्यु र जानाजान निम्त्याइएको भोकमरीको अवस्थालाई उनीहरुले यसको प्रमाण मानेका छन्।
द गार्डियन, प्लस९७२ म्यागजिन र लोकल कलले टिप्पणीका लागि सोध्दा इजरायली सेनाले गुप्तचर डाटाबेसको अस्तित्व वा हमास र पीआईजेका हताहतीको तथ्यांकलाई अस्वीकार गरेन ।
बरु, एक प्रवक्ताले लेखमा प्रस्तुत गरिएको तथ्यांक गलत भएको बताए । तर कुन तथ्यांक गलत हो भन्ने स्पष्ट पारेनन् । सेनाको विज्ञप्तिमा तथ्यांकले इजरायली सेनाकोे प्रणालीमा उपलब्ध तथ्यांकलाई प्रतिबिम्बित नगर्ने बताइए पनि ती प्रणालीहरूमा के थियो भन्ने कुरा पनि स्पष्ट गरेको छैन ।
इजरायली राजनीतिज्ञ र सैन्य नेताहरूले लामो समयदेखि लडाकुहरूको मृत्यु संख्यालाई बढाइचढाइ प्रस्तुत गर्दै आएका छन्, कहिलेकाहीँ २० हजार लडाकु मारिएको दाबी गर्ने वा नागरिक–लडाकु अनुपात १ः१ अर्थात बराबर रहेकोमा जोड दिने गरेका छन् । तर रिपोर्टले उल्लेख गरेअनुसार उनीहरू व्यक्तिगत रूपमा यस्ता तथ्यांकमा विश्वास गर्दैनन् ।
यसैबीच, इजरायली वक्तव्यवाजीले नरसंहारको भाषालाई झन्न् झन् प्रतिबिम्बित गरेको प्राप्त समाचारमा उल्लेख छ ।
इजरायलको च्यानल १२ मा प्रसारण गरिएको एक चुहिएको अडियो रेकर्डिङमा, सैन्य गुप्तचरका पूर्वप्रमुख अहारोन हा लिभाले दाबी गरेका छन्– ‘गाजामा ५० हजार जनाको मृत्यु हुनु आवश्यक र भविष्यका पुस्ताका लागि अनिवार्य छ ।’
उनले अगाडि भने– अक्टोबर ७ मा मृत्यु भएको हरेक एक व्यक्तिको लागि, ५० जना प्यालेस्टिनी मर्नुपर्छ… कुनै विकल्प छैन, उनीहरूलाई समयसमयमा नक्बा चाहिन्छ ताकि परिणामको महसुस होस् ।’ विनाश अर्थ दिने नक्बा शब्दले सन् १९४८ मा इजरायल निर्माणको लागि बाटो खुलाउन गरिएको प्यालेस्टिनीहरूको हत्या र जातीय सफायालाई जनाउँछ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्चसम्म गाजामा मृत्यु हुनेको संख्या ५० हजार पुगेको थियो; अहिले यो संख्या ६२ हजार भन्दा बढी पुगिसकेको छ । घाइतेहरूको कुल संख्या १ लाख ५७ हजार नाघेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनका पूर्व रक्षामन्त्री योआव ग्यालन्टविरुद्ध अक्टोबर २०२३ देखि मे २०२४ बीचमा गरिएको युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।









