तेहरान– इरानले मध्यस्थकर्तामार्फत अमेरिकालाई रणनीतिक होर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले आइतबार जानकारी गराएका छन् । इरानले पश्चिम एसिया युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको पश्चिम एसिया द्वन्द्वमा अमेरिका र इरान महिनौंदेखि गतिरोधमा फसेका छन् ।

तेहरानले त्यसयता विश्वको तेल र ग्यासका लागि महत्त्वपूर्ण यातायात मार्ग होर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ ।

‘हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पुर्याइएको छ,’ इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भनेका छन्। युद्ध अन्त्यका लागि भएका वार्तामा उनी मुख्य वार्ताकारका रूपमा रहेका छन् ।

‘जबसम्म सर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन्, तबसम्म वार्ताअघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव हुनेछैन,’ उनले इरानी राष्ट्रिय टेलिभिजनलाई दिएको एक अन्तवार्तामा भनेका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले शनिबार भनेका थिए, ‘इस्लामिक गणतन्त्र इरानले मध्यस्थकर्ता कतारमार्फत अमेरिकासामु आफ्ना सर्तहरू पठाएको छ ।’

‘हाम्रा सर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, हाम्रा रोकिएका कोषहरूको रिहाइ र नौसेना नाकाबन्दी अन्त्य रहेका छन् ।’ उनले अल–जजिरासँगको अन्तर्वार्तामा भने ।
इरानी अधिकारीहरूले मध्यस्थकर्ता पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी आइतबार वार्ताका लागि तेहरान आउने कार्यक्रम रहेको बताएका छन् ।

यसैबीच, इरानको खातम अल–अनबिया केन्द्रीय सैन्य कमान्डले टेलिभिजनमा प्रसारित वक्तव्यमार्फत् आइतबार संयुक्त राज्य अमेरिकाविरुद्ध एक चेतावनी जारी गरेको छ ।

‘यदि अमेरिकाले इरानसँग व्यवहार गर्दा गल्ती गर्यो भने कुनै सीमा वा संयमविना त्यस देशका पश्चिम एसिया क्षेत्रका सबै आधार र स्वार्थहरू प्रभावकारी र पीडादायक हमलाको निरन्तर निशाना बन्नेछन्,’ इरानी सेनाले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय