काठमाडौं– गत पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पहिलोपल्ट पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिलेसम्म पार्टी कार्यालयमा बसेको छैन । केन्द्रीय समितिको पहिलो र दोस्रो बैठक क्रमशः पार्टी प्यालेस र होटलमा बसेको थियो ।
गगन थापा पार्टी सभापति निर्वाचित भइसकेपछि पनि पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा रहेको कार्यसमितिको बैठक पार्टी कार्यालयमा बसेको थियो । देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व वैधानिक नरहेको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ । निर्वाचन आयोगले भने थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा गठन भएको कार्यसमिति केन्द्रीय कार्यालय सानेपा पुगेको छैन ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्य समिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् । उनले भोलि नयाँ कार्यसमिति औपचारिक रूपमा केन्द्रीय कार्यालय सानेपा जाने र त्यहीँ केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए ।
नेपाली कांग्रेसको वेबसाइट भने अझै पनि देउवा पक्षकै नियन्त्रणमा छ । बिहीवार दिउँसो १२ः५० बजे यो सामग्री तयार गर्दासम्म वेबसाइटमा पुरानै कार्यसमितिको विवरण छ ।









