काठमाडौं– नेपालीहरुको विदेश पलायन बढिरहेको बेला उनीहरुले स्वदेश पठाउने रकम (विपे्रषण)मा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ६ महिना (साउन–पुस) मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव १ प्रतिशतले बढी विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गएको साउनदेखि पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको केन्द्रीय बैकले सोमवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा उल्लेख छ । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२ दशमलव ३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको छ । पुसमा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ विप्रेषण आएको प्रतिवेदनमा उल्लेख छ ।
विप्रेषण आप्रवाह बढ्दा चालू खाता, विदेशी मुद्रा विनिमय सञ्चिति तथा सञ्चिति पर्याप्तता सूचक थप बलियो भएको राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्षको पुस मसान्तमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा छ । विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ बराबर पुगेको छ । यसले अहिलेकै अनुपातमा वस्तु आयात गर्दा २१ दशमलव ४ महीनालाई र वस्तु तथा सेवा दुवै आयात १८ दशमलव १ महीनालाइ पुग्छ ।
पुसमा महँगी (मुद्रस्फीति) २ दशमलव ४२ प्रतिशतमा सीमित रहेको केन्द्रीय बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही महीनामा यो ५ दशमलव ४१ प्रतिशत थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव शून्य ९ प्रतिशतले ऋणात्मक र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२-८३ को ६ महीनाको औसत मुद्रास्फीति १ दशमलव ७० प्रतिशत रहेको छ ।
साउन–पुसको ६ महीनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर घटेको छ । यस अवधिमा निजीक्षेत्रतर्फको कर्जा ३ दशमलव ६ प्रतिशत (१ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ दशमलव २ प्रतिशत (२ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ) ले बढेको थियो ।
पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव ७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव ३ प्रतिशत रहेको छ ।









