काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको साबिकको सिद्धकाली र मावादिन गाविसमा पर्ने पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा बैंकहरुले लगानी गर्ने भएका छन् ।

सो आयोजनामा लक्ष्मीको अगुवाइमा माछापुच्छ्रे बैंकले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको लक्ष्मी बैंकले जनाएको छ । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ छ ।

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको र उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति भइसकेको बताइएको छ । माबिलुङ्ग इनर्जीलाई एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड लगायत अन्य व्यक्तिहरुले प्रवर्द्धन गरेका छन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) लगानी गर्ने छन् । बाँकी ३० प्रतिशत कम्पनीका सेयरहोल्डहरुको स्वलगानी रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकहरुमध्ये लक्ष्मीले ३९ करोड ९९ लाख र माछापुच्छ्रेले २५ करोड ६० लाख लगानी गर्नेछ ।

कम्पनीले वार्षिक २८.४१७ गेगावाटआवर बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना फेबु्रअरी २०२२ मा सञ्चालनमा आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय