काठमाडौं– परिवार दलले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन गरेको छ । बुधबार बाग्मती प्रदेशस्तरीय भेला सम्पन्न गरेसँगै सातै प्रदेशको भेला सकिएको हो ।
पछिल्लो समय जातीय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रवादको पक्षमा उभिएको दाबी गर्ने परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको जनाएको छ ।
सातै प्रदेशका भेलामा नागरिक समाज, बुद्धिजीवी सञ्चारकर्मी, कलाकार, राष्ट्रसेवक लगायत सबै तह र तप्काका नेतृत्वको सहभागिता रहेको पार्टीले जनाएको छ ।
बाग्मती प्रदेश सम्पर्क समितिले आयोजना गरेको भेलामा सम्बोधन गर्दै र दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपालका पुराना दलहले समृद्धिका कुरा गरे पनि सुशासनलाई कम महत्त्व दिएको बताउँदै नेपालको राजनीतिमा मूल्य, मान्यता र निष्ठाको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले जबसम्म राज्य सञ्चालक इमानदार हुँदैनन् तबसम्म देशमा सुसंस्कार र सुशासनको प्रत्याभूति हुन नसक्ने ठोकुवा गरे । उनले लोकतन्त्र र सुशासनमाथि खतरा पढेलेखेका बुद्धिजीवी र जान्ने सुन्नेहरुबाटै रहेको भन्दै विभेदरहित र समातामूलक समाज निर्माण गर्न समृद्धि सुसासन, मूल्य र मान्यता सँगसँगै हुनुपर्ने बताए ।
पूर्वसभासद बिनोद पहाडीले परिवार दललाई निष्ठावान पार्टी भन्दै सान्दर्भिकता अहिले झन् बढेको बताए । अन्तरधार्मिक परिषद अध्यक्ष केशव चौलागाईंले सबै धर्म संस्कृतिप्रति सद्भाव कायम गर्न परिवार दलले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपन्थी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुन सक्ने बताए ।