काठमाडौं– विश्वविख्यात टाइम म्यागजिनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई सन् २०२६ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री बालेन उक्त सूचीको १४औं नम्बरमा छन्।
टाइमले हरेक वर्ष यस्तो सूची सार्वजनिक गर्छ। नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका समूहमा विभाजन गरी टाइमले सूची सार्वजनिक गरेको छ।
उक्त समूहमा पोप लियो पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया सेइनबउम र तेस्रो नम्बरमा अमेरिकी विदेशमन्त्री मार्को रूबिओ छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन्।
पाँचौंमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, छैटौंमा न्युयोर्कका मेयर जोहरन ममदानी, सातौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, आठौंमा जापानकी प्रधानमन्त्री सनइ तकाइची, नवौंमा इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, दसौंमा नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह, एघारौंमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौंमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौंमा स्पेसएक्सकी प्रमुख ग्वाइन सटवेल र चौधौंमा प्रधानमन्त्री बालेन शाह छन्।
टाइमले बालेनलाई हिप–हपबाट उदाएको राजनीतिक नेता भनेको छ। भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको आन्दोलनले उनलाई सत्तामा पुर्याएको पनि टाइमले उल्लेख गरेको छ।
बालेनको उदयलाई युवा विद्रोहका रूपमा हेरिएको र यसले क्षेत्रीय सत्ता संरचनामै तरंग ल्याएको पत्रिकाले उल्लेख गरेको छ।
मेयर रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको भनेर टाइमले प्रशंसा गरेको छ।
तर, स्थानीय तहमा देखिएको सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने–नसक्ने विषयमा भने अझै चुनौती रहेको उसको विश्लेषण छ ।
अमेरिकी र्याप कलाकार टुपाक सकुर र फिफ्टी सेन्टका प्रशंसक बालेनले ‘नयाँ वा पुराना सबै राजनीतिज्ञ चोर हुन्’ भनेर सामाजिक सञ्जालमामा लेखेको कुरा पनि टाइमले सम्झाएको छ ।
बालेनले आफ्नो उक्त भनाइ गलत साबित गर्ने अपेक्षा नेपाली जनताले गरेको पनि टाइमले उल्लेख गरेको छ ।









