काठमाडौं– दुई वर्षअघि निर्देशक नविन चौहान गायक सुजन चापागाईंको गायकीबाट निकै प्रभावित बने । त्यतिबेला नविनसामु सुजनले ‘लजाएर’ बोलको गीत गुन्गुनाएका थिए । त्यही गीत सुनेर उनले सुजनलाई प्रस्ताव गरे, ‘तीनपाते’ गाऊ न ।

‘तीनपाते’ले करोडभन्दा बढी स्रोता दर्शकको मन जित्यो र उनीहरूको सहकार्य थप मजबुत बन्यो । त्यसैको परिणामस्वरुप नविन र सुजनको सहकार्यमा ‘लजाएर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुजनको युट्युब च्यालनमार्फत गीति भिडियो सार्वजनिक भएको हो । शैलेश गिरीको शब्द रहेको गीतलाई सुजनले स्वर र संगीत दिएका छन् ।

भिडियोमा सुजनले प्रिया लिम्बुसँग स्क्रिन सेयर समेत गरेका छन् । भिडियोमा गायक र ‘फ्यान’बीचको प्रेमसम्बन्ध दृश्यकथामा आकर्षक र पृथक शैलीमा प्रस्तुत गरिएको छ ।

लजाएर एक्लै किन बसेकी मायालु
अब छाता छोड एक्लै नओड मायालु

सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ । भिडियोमा ‘तीनपाते’बाट निकै चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको अभिनयले कथालाई रोमाञ्चक बनाएको छ । त्यसैगरी सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।

परिवेशमा नयाँपन
म्युजिक भिडियोमा सधैं नौलो प्रयोग गर्न रुचाउने निर्देशक चौहानको यो छैटौं भिडियो हो । भिडियोमा पात्रहरूको मनोविज्ञान, उनीहरूको संवाद र दृश्यलाई मौलिक बनाउन उनको मेहनत झल्केको देखिन्छ । नविनका अघिल्ला भिडियो ‘लुकिछिपी’देखि ‘बटौली’, ‘के माया लाग्छ र’, हुँदै ‘तीनपाते’सम्म हेर्ने हो भने कथाहरू गाउँले परिवेशमा आधारित छन् । तर यसपालि उनको कथावस्तु र परिवेश भिन्न छ ।

सहरीया परिवेशमा उनले फरक शैलीको गीति भिडियो निर्माण गरेका छन् । उनी भन्छन््, ‘सहरीया परिवेशमा केही गर्ने हुटहुटी अलि अगाडिदेखि नै थियो । त्यो मौका अहिले आएर पूरा गर्न सकेकोमा खुसी छु ।’

यसपछि नविनको निर्देशन र सुजनको स्वरमा नयाँ गीत ‘बाफ’ समेत रिलिज हुने तयारीमा छ । गायक सुजनको केही समयअघि रिलिज भएको ‘गाला पुक्क’ले पनि युट्युबमा एक करोडभन्दा बढी भ्युज पाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय