काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषण अध्ययन गर्ने समझदारी भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले समझदारी पत्रमा आइतबार हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाले आगामी ६ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिबद्धता जनाएका छन् । आपसी सहमति अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासन प्रवद्र्धन एवं उद्योग सञ्चालनका क्रममा देखा पर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने भएका छन् ।

महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनर्स्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने समझदारी भएको छ ।

महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने बताए । गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष चार लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको बताए ।

उद्योग विभागका महानिर्देशक भुसालले महासंघसँग अत्यन्त महत्त्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी साँच्चै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय