
काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि शुक्रबार (आज) देखि प्राथमिक सेयर (आइपिओ ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत सेयर निष्काशनमा ल्याएको हो ।
उक्त सेयरमध्ये ५ प्रतिशत कर्मचारीलाई र त्यसैगरी ५ प्रतिशत सामूहिक लागनीकोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपिओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने र ढिलामा चैत ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपिओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेभ तथा एपमार्फत पनि उक्त आइपिओमा आवेदन दिन सकिने छ ।
कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।
आइपिओ निष्कासनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५४ करोड रहेको छ भने आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ ।