काठमाडौं– नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस) सम्बन्धी तालिम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँगको सहकार्यमा नाफिजले आर्थिक पत्रकारको बैंकिङ समाचार लेख्ने क्षमता विकास विकास गर्न सो तालिम आयोजना गरेको हो ।

तालिमको उद्घाटन सत्रमा बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताले सजिलै बुझ्ने गरी वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले सर्वसाधारण लगानीकर्ताले बुझ्ने गरी वित्तीय विवरण सरल र नेपाली भाषामा प्रकाशन गर्न बैंकरहरुबीच छलफल सुरु भएको र संघमा औपचारिक रुपमा छलफल अघि बढाउने जानकारी दिए ।

यसअघि बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरण आफ्नो व्यावसायिक अवस्था राम्रो रहेको मात्र देखाउन सार्वजनिक गर्ने गरेको तर एनएफआरएस लागू भएपछि बैंकहरुले संस्थाको व्यवस्थापकीय हिसाबलाई प्राथमिकतामा राख्ने उनले भनाइ उनको छ ।

आगामी दिनमा नाफिजसँगको सहकार्यमा संघले आर्थिक पत्रकारको क्षमता तथा सीप विकासका लागि तालिम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने प्रतिबद्धता उनको छ ।

तालिममा ३० जनाभन्दा बढी आर्थिक पत्रकार सहभागी थिए, जहाँ नेपाल राष्ट्र बैंक नियमन विभागका सहायक निर्देशक सुजन खनाल, स्ट्यान्डर्ड चार्टर्ड बैंकका लेखानियन्त्रक सुरज लामिछाने र वरिष्ठ आर्थिक पत्रकार यज्ञ बञ्जाडेले प्रशिक्षण दिएका थिए । तालिममा एनएफआरएसको पृष्ठभूमि, उपयोगिता र चुनौतीबारे प्रकाश पारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय