काठमाडौं– पार्टीको नाम र चुनाव चिह्नबारे विवाद चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल दुवै समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामबाट वञ्चित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामबारे परेको रिटमा सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि ओली र दाहाल–नेपाल दुवै समूह उक्त नामबाट वञ्चित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम र सूर्य चिह्नबारे यी दुई समूहबीच विवाद चलिरहेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । निर्वाचन आयोगविरुद्ध परेको सो रिटको सुनुवाइ फागुन १३ मा सकिएको थियो ।

आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।

कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले घन र कोदालो चिह्न लिएर संसदीय निर्वाचनमा भाग लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय