काठमाडौं– उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल’ अभियान सुरु गरेको छ । परिसंघले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त अभियान घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परिसंघको उक्त अभियानको थालनी गरेका हुन् । उनले निजी क्षेत्रले ल्याएको यो अभियान सरकारकै भएको बताए । ‘यो अभियान तपाईंहरुको भन्दा पनि सरकारको हो,’ अभियान घोषणा गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी आएको यो अभियानलाई सरकारले आफ्नै ठानेको छ ।’

प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई सकेसम्म आयात प्रतिस्थापन गर्ने गरी यो अभियान अन्तर्गत काम गर्न आग्रह गरे । आयात गर्नैपर्ने अवस्था आए आवश्यक वस्तु र कच्चा पदार्थ मात्र आयात गर्न उनले आग्रह गरे । ‘अनाश्यक वस्तुको आयातले समस्या खडा गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘इनर्जी ड्रिंक्सको नाममा धमिलो पानी किन आयात गरेर विदेशी मुद्रा खर्च गर्नुहुन्छ । यस्ता अनावश्यक वस्तु र स्वदेशमै उत्पादन गर्न सकिन्छ ।’

उनले मुलुकका धेरै स्थानमा उद्योग, व्यवसाय खोल्न मिल्ने गरी पूर्वाधार निर्माण भएको जानकारी दिँदै यो अभियान त्यस्ता स्थानमा जानुपर्नेमा जोड दिए । ‘हामीले भर्खरै नौ सयदेखि दुई हजार एक सय बिघा क्षेत्रफल भएका औद्योगिक क्षेत्र तोकेका छौं,’ ओलीले भने, ‘व्यवसायीलाई कहाँ उद्योग स्थापना गर्ने भन्ने समस्या छैन । विभिन्न स्थानमा सुरु भएको सेज निर्माणको काम पनि रोकिएको छैन । मुलुक छिट्टै औद्योगिकीकरणतर्फ उन्मुख छ ।’

प्रधानमन्त्री ओलीले पूर्वाधार बनिसकेका कारण अबको खाँचो उत्पादन र रोजगारीको भएको बताए । उनले उत्पादित वस्तुको बजारको खाँचो पनि नभएको जानकारी दिए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको यो अभियान नयाँ अठोटको सुरुवात भएको बताए ।

उद्योगमन्त्री लेखराज भट्टले निजी क्षेत्रले ल्याएको यो अभियान मुलुकका लागि राम्रो भएको भन्दै गुणस्तर कायम गरेर उत्पादन गरे मात्र यसले सार्थकता पाउने बताए ।

परिसंघका अध्यक्ष सतीषकुमार मोरले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान अगाडि सारेको जानकारी दिए । स्वदेशमा उद्योगहरु स्थापना गरी उत्पादन र रोजगारी बढाउने र अहिलेको चर्को आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य अभियानले राखेको अध्यक्ष मोरले जानकारी दिए । ‘यो अभियान निजी क्षेत्रको मात्र होइन, सरकारको पनि राष्ट्रिय रणनीति बन्नु पर्छ,’ अध्यक्ष मोरले भने, ‘त्यसका लागि म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्छु ।’

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले यो अभियानको लक्ष्य नेपाली उत्पादनलाई बजारसम्म पुर्याउने मात्र नभएर उपभोक्तामा अपनत्व पनि बढाउने भएको बताए ।

अर्थशास्त्री विश्व पौडेलले स्वदेशमा उत्पादन र रोजगारी बढाउन सरकार र निजी क्षेत्रले के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय