दैलेख– आठबिस नगरपालिका–३ निमाइलका एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । चर्को गरिबीका कारण उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनका तीन छोरी र एक छोराले कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे शव हात बाँधेको अवस्थामा हराएको भोलिपल्ट २४ गते साँझ कर्णाली नदीमा फेला परेको थियो । सुखी र ८ वर्षीय छोरा ललितको शव मंगलबार दिउँसो नदीमा फेला परेको छ ।

पाँच वर्षीया रजनीको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए । अहिले घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुगिसकेको छ । खोजी कार्य तीव्र पारिएको छ ।

सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मंगलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । घरमूली मानसिंहले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझ नै चार केटाकेटीसहित सुखी घरबाट निस्किएको स्थानीयले बताएका छन् ।

गरिब परिवार भएकाले एउटा समस्या थियो । त्यही बेला घरमूलीले नै लगातार मदिरा सेवन गरेर यातना दिएपछि उनीहरु नदीमा हाम्फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मानसिंहलाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ ।

घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनुपरेको विषयलाई लिएर अधिकारकर्मीले विरोध जनाएका छन् । तीनै तहका सरकारले वडा तहसम्मका नागरिकको समस्या के छ, कसरी बसेका छन्, घरेलु मदिराको बिगबिगी कस्तो छ ? पत्ता लगाउँदै समस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण तयार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय