
सिन्धुपाल्चोक (मेलम्ची)– आज (मंगलबार) बिहानदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाउन थालिएको छ । मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा मेलम्ची पानी मंगलबारबाट काठमाडौं पठाउने सहमति भएको हो ।
मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर संघर्ष समिति एवं त्यहाँका सरोकारवालासँग वार्ता गरेका थिए । दसैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।
टोली र मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौं लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौं आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
निर्देशक लामिछानेले अब कुनै अवरोध भएकोले मंगलबारबाटै पानी सुरुङमा पठाउन सुरु गर्ने बताए । उनका अनुसार सहमतिअनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्ने गरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ ।
कार्यकारी निर्देशक लामिछानेका अनुसार बाढी पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्न मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ ।