काठमाडौं– नागढुंगा–सिस्नेखाला सुरुङमार्गको निर्माण नौ प्रतिशत सकिएको छ । कोभिड–१९ का कारण निर्माण सुस्त भएको कामले अहिले गति लिएको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलो भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले सुरुङमा २४सै घन्टा काम भइरहेको छ । ‘शनिबारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ,’ उनले भने । सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढेको छ ।

पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मिटर खनिसकिएको आयोजनाले जनाएको छ । आपतकालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मिटर खनिएको छ । सुरुमा कठिन भूगोलमा सुरुङ खन्ने काम भइसकेकाले अब खन्न सजिलो हुने प्रमुख शाक्यले बताए ।

सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुंगामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहँुच सडक निर्माण अघि बढेको छ । आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।

आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ । सो स्थानमा स्थानीयवासीको उत्पादन संकलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरेको प्रमुख शाक्यले बताए । ठूलो मैदान बनाउने काम एक चरणको पूरा भएको उनको भनाइ छ । आयोजनाले सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो । त्यसमध्ये अहिले एक महिना सकिएको प्रमुख शाक्यले बताए । अबको १५ महिनामा खनिसक्ने गरी काम अघि बढेको छ । खन्ने कामपछि सुरुङमा अन्तिम काम हुनेछ । त्यस क्रममा बत्ती जडान, अग्निनियन्त्रण प्रणाली, सिसिटिभी राख्नेलगायत काम हुनेछ ।

निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ । नेपाली इन्जिनियर झण्डै ९० र परामर्शदाता कम्पनीका तीनजना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन् । अदक्ष जनशक्तिमा भने सबै नेपाली छन् । अहिले झण्डै ३५० कामदार कार्यरत छन् । सडक विभागका १४ प्राविधिक जनशक्ति निर्माणस्थलमा रहेको प्रमुख शाक्यले बताए । ‘नेपालको पहिलो सुरुङ भएकाले नेपाली प्राविधिकलाई पनि सिक्नका लागि अवसर भएको छ,’ उनले भने ।

गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबीसे सडक खण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारी साधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ । सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई फ्लाइओभर, एक सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्ड अनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुंगा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुंगामाटो भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी संकलन केन्द्रलगायत कक्ष हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय