काठमाडौं– एक हप्ता अघिसम्म एकअर्कालाई तल्लो स्तरको गालीगलौजमा व्यस्त नेकपा एमालेका नेताहरु पद गुम्ने र धुलोमा मिल्ने खतरा बढेपछि एउटै टेबुलमा आमनेसामने भएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली माधव नेपाल–झलनाथ खनाल समूहबीच उत्पन्न तिक्तता मेटाउन भन्दै उनीहरुले छलफल सुरु गरेका छन् । एमाले मुख्यालय धम्बाराहीमा ओली र नेपाल पक्षबीच सोमबार बिहान छलफल सुरु भएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि एमाले ब्युँतिएको थियो । त्यसलगत्तै अध्यक्ष ओलीले एकपक्षीय रुपमा नेपाल समूहलाई पदाधिकारीबाट हटाउँदै विभिन्न पदमा आफ्ना पक्षकालाई नियुक्त गरेका थिए ।

ओलीले आफ्नै मन्त्रिमण्डलमा सहभागी नेपाल–खनाल समूहका योगेश भट्टराईले मन्त्री छाडेपछि उनलाई केटोको संज्ञा दिएका थिए भने कृषिमन्त्री घनश्याम भुसाललाई पनि सार्वजनिक मञ्चबाट उढाउनुसम्म उडाएका थिए ।

खनाल–नेपाल समूहले पनि ओलीलाई तल्लो स्तरका शब्द प्रयोग गर्दै आलोचना गरिरहेका छन् । केही दिनअघि ओलीले नेपाल पक्षको सहभागिताबिना केन्द्रीय कमिटी बैठक राखेर पदाधिकारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता झन् गहिरिएको थियो ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्युँतिएपछि पहिलोपटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुटेको बताइएको छ । उनीहरुको यो सक्रियता पद गुम्ने डरले एकजुट हुन खोजे जस्तो देखिएको छ ।

सोमबारको छलफलमा महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, प्रदीपकुमार ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी छन् । एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले सोमबारको छलफलले विगतदेखिको संवादहीनतालाई तोड्दै एमालेलाई पुनः एकताबद्ध बनाउने बताए । ‘शीर्ष नेताबीच वैचारिक, सैद्धान्तिक रुपमा कुनै विवाद छैन,’ उनले भने, ‘उहाँहरुबीच कार्यशैली, व्यवहारमा मात्र भिन्नता हो । आजको छलफलले पार्टीलाई एक ढिक्का बनाउने छ ।’

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले केही दिनयता दुई पक्षबाट भएका गतिविधिले पार्टीलाई असहज स्थितिमा पुर्याएकाले आजको छलफलले दुई पक्षबाट भएको गतिविधिलाई रोक्दै सहजतामा ल्याउने विश्वास गरे । अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय