काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोषले आफ्ना एकाइहरु आइतवारदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डबाट गत पुस १३ गते प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड एकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशत एकाइ कम्पनीले निष्कासनमा ल्याएको हो । सोमध्ये १४ प्रतिशत अर्थात २ करोड २४ लाख एकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ प्रतिशत अर्थात १६ लाख एकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख एकाइ सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।
उक्त फन्डको न्यूनतम १०० एकाइ र अधिकतम १ करोड ६० लाख एकाइसम्मको लागि आवेदन दिन पाउने कम्पनीले स्पष्ट पारेको छ ।
नेपाल लाइफ म्युचुअल फन्ड अन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि एकाइ बाँडफाँड भएको मितिले १० वर्ष छ । फन्डको एकाइमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त योजनाको एकाइमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बताइएको छ । यसका साथै सिडिएिस एन्ड क्लियरिङ लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो म्युचुअल फन्ड निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कोष प्रवर्द्घकलाई एए माइनस र योजना व्यवस्थापकलाई एएमसी थ्री रेटिङ प्रदान गरेको छ । एए माइनसको अर्थ वित्तीय कर्तव्य समयमै पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षा स्तर हो । एएमसी३ को अर्थ व्यवस्थापन गुणस्तरमा पर्याप्त भरोसा भन्ने हुन्छ ।









