काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले आज राजीनामा घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो सेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन् । गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
उले भनेका छन्, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।’
राजीनामा घोषणा गर्दै गुरुङले लेखेको फेसबुक स्टाटसः
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।
मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नेदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ । कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।









