नेपालगन्ज– संविधानसभा सदस्य तथा महिला अधिकारकर्मी मोहम्मदी सिद्दिकीको निधन भएको छ ।
करिब दुई सातादेखि कोरोनाको उपचार गराइरहेकी सिद्दिकीको केही बेरअघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको हो ।
सिद्दिकीको कोरोनाबाट निधन भएको अस्पताल प्रमुख प्रकाश थापाले पुष्टि गरेका छन् ।
फतिमा फाउन्डेसन अध्यक्ष समेत रहेकी ७२ वर्षीय सिद्दिकी कोरोना संक्रमण हुनुअघिसम्म पनि परोपकारी र मानव सेवामा संलग्न थिइन् ।
कोरोना संक्रमण पुष्टि भएपछि चैत २८ मा भेरी अस्पताल भर्ना भएकी सिद्दिकीलाई श्वासप्रश्वासको समस्या जटिल हुँदै गएको अस्पताल डा. थापाले बताए । शनिबार राति ८ बजेतिर उनको निधन भएको बाँके प्रहरीले पनि अस्पताललाई उद्धृत गर्दै जनाएको छ ।
बाँकेमा पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै बाँकेमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७९ पुगेको छ ।