काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
विभागले सोमबार सूचना जारी गर्दै कोभीड–१९ को बढ्दो संक्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईँले भने, ‘विभागमा सेवाग्राहीको भीडभाड हुँदा संक्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अतिआवश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौं । भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमनलगायतका काम हुन्छ,’ उनले भने ।