
काठमाडौं– केही बेरमा मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । उक्त बैठकमा नेपालमा तीव्र रुपमा फैलिरहेको कोरोनाको दोस्रो लहर रोकथामका लागि चालिने कदमबारे निर्णय हुने स्रोतले बताएको छ ।
यसअघि सोमबारै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी संयुक्त बैठकले कोरोना रोकथामका लागि केही क्षेत्रहरुमा प्रतिबन्ध लगाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
तर देशकै राजधानी भएकाले माथिल्लो तहबाटै निर्णय हुनुपर्ने निष्कर्षमा उक्त बैठक पुगेपछि प्रशासन कार्यालयहरुले केही निर्णय लिन सकेका छैनन् ।
मन्त्रिपरिषद् बैठकले उपत्यका लगायत देशभर कोरोना संक्रमणको तीव्र गति न्यूनीकरणका लागि अवलम्बन गरिने उपायबारे निर्णय गर्नेछ ।
कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न तत्काल के गर्ने भन्ने विषयमा उपत्यकाका प्रशासकहरुबीच छलफल जारी रहेको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
संक्रमण उच्च गतिमा बढ्दै गएपछि तत्काल आवश्यक कदम चाल्न जनस्वास्थ्यविद्ले सरकारकालाई दबाब दिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आइतबार सहरी क्षेत्रमा ५०० र पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित पुुग्नेबित्तिकै निषेधाज्ञा जारी गर्ने अख्तियारी स्थानीय प्रशासनलाई दिन मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ ।